जर्मनी र स्पेनको बराबरी

खेलकुद

बर्लिन : कोरोना भाइरसको महामारीका कारण १० महिनापछि फर्किएको अन्तर्राष्ट्रिय फुटबलमा जर्मनी र स्पेनले बराबरी खेलेका छन्। यूईएफए नेसन्स लिगअन्तर्गत बिहीबार राति भएको रोचक खेलमा जर्मनी र स्पेन १-१ गोलको बराबरीमा रोकिएका हुन्।

जर्मनीले सुरुआती अग्रता लिए पनि दोस्रो हाफको इन्जुरी समयमा सम्हालिन नसक्दा अंक बाँड्न बाध्य बनेको हो। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। जर्मनीले ५१औं मिनेटमा गोल गरेको थियो। टिमो वेर्नरले गोल गर्दै घरेलु टोलीको उत्साह बढाएका थिए।

यसै सिजन प्रिमियर लिग क्लब चेल्सीमा अनुबन्ध भएका वेर्नरले रोविन गोसेन्सको पासमा गोल गरेका थिए। खेलको सुरुआतदेखि नै गोल गर्न आतुर स्पेनको प्रयास अन्तिममा पुगेर सफल भएको थियो। दोस्रो हाफको इन्जुरी समयमा रक्षक जोस गायाले गोल गर्दै स्पेनको संकट टारेका थिए। फरान टोरेसको पासमा डिबक्सभित्रबाट रोड्रिगोकोले गरेको हेड प्रहार विफल भएपछि सोही बललाई गायाले जाली चुमाएका थिए।

निर्धारित समयमा उत्कृष्ट प्रदर्शन गरिरहेको जर्मनी अन्तिममा सम्हालिन नसक्दा अंक बाँड्न बाध्य भयो। स्पेनले पनि लगातार पोस्ट् प्रहारको अवसर बनाएको थियो। यही खेलबाट बार्सिलोनाका युवा स्टार अंशु फातीले स्पेनको सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन्। फाती ४६औं मिनेटमा जेसस नाभासको स्थानमा मैदान छिरेका थिए। फातीले इन्जुरी समयमा फरान टोरेसको फ्रिकिक पासमा हेड गोल गरे पनि फल भएको भन्दै रेफ्रीले मान्यता दिएनन्।

यस बराबरीसँगै नेसन्स लिग ‘ए’को समूह चारमा रहेको जर्मनी र स्पेनले एक÷एक अंक बनाएका छन्। तालिकामा स्पेन दोस्रो र जर्मनी तेस्रो स्थानमा छ। तीन अंक बनाएको युक्रेन शीर्ष स्थानमा छ।

बिहीबार राति नै भएको खेलमा युक्रेनले स्विट्जरल्यान्डलाई २-१ गोलले स्तब्ध बनायो। घरेलु मैदानमा युक्रेनलाई जिताउन एन्ड्री यार्मोलेन्कोले १४औं र ओलेकजेन्डर जिनचेन्कोले ६८औं मिनेटमा गोल गरेका थिए। यसअघि स्विट्जरल्यान्डका हरिस सेफेरोभिचले ४१औं मिनेटमा बराबरी गोल फर्काए पनि टोलीको हार टार्न सकेनन्।

यसैगरी यूईएफए नेसन्स लिगअन्तर्गत ‘बी’को समूह तीनमा रसियाले सर्वियालाई ३-१ गोलले हराएको छ। घरेलु मैदानमा रसियालाई सहज जित दिलाउन कप्तान अर्टिम डिज्युवाले ४८औं र ८१औं मिनेटमा दुई तथा भ्याचेसलाभ काराभाइभले ६९औं मिनेटमा एक गोल गरे। सर्वियाका अलेक्जेन्डर मिट्रोभिकले ७८औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए।

यही समूहको अर्काे खेलमा हंगेरीले टर्कीलाई १-० गोलले हरायो। हंगेरीको जितमा डोमिनिक स्जोबोस्जालाईले ८०औं मिनेटमा निर्णायक गोल गरेका थिए। जितसँगै रसिया र हंगेरीले तीन÷तीन अंक बनाएका छन्। टर्की र सर्वियाले हारबाट खेल सुरु गरेका छन्।

लिग ‘बी’को समूह चारको खेलमा वेल्सले फिनल्यान्डलाई १-० गोलले हरायो। वेल्सको जितमा किफर मोरेले निर्णायक गोल गरेका थिए। सोही समूहमा बुल्गेरिया र आयरल्यान्डले भने १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। लिग ‘सी’को समूह तीनको खेलमा माल्डोभा र कोसोभोले १-१ तथा स्लोभेनिया र ग्रिसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। लिग ‘डी’को समूह एकमा आइसल्यान्डले माल्टालाई ३-२ गोलले हरायो। सोही समूहको अर्को खेलमा लात्भिया र एन्डोराले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *