लन्डन : पाहुना टोली अस्ट्रेलियाविरुद्धको टीट्वेन्टी क्रिकेटमा घरेलु टोली इङ्ल्यान्डले रोचक जित निकालेको छ। साउथह्याम्पटनको राजबल स्टेडियममा शुक्रबार राति भएको पहिलो खेलमा इङ्ल्यान्डले अस्ट्रेलियालाई दुई रनले पराजित गरेको हो। जितसँगै तीन खेलको शृंखलामा इङ्ल्यान्डले १–० को अग्रता लिएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६२ रन बनाएको थियो। एक सय ६३ रनको विजय लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारित ओभरमा ६ विकेटको क्षतिमा एक सय ६० रनमा समेटिएको थियो।
इङ्ल्यान्डका लागि डेभिड मलानले सर्वाधिक ६६ रन बनाए। उनले ४३ बलमा तीन छक्का र पाँच चौकाको सहयोगमा उक्त रन जोडेका थिए। ओपनर जस बटलरले ४४ र क्रिस जोर्डनले अविजित १४ रन बनाएका थिए। अस्ट्रेलियाका एस्टन अगर, केन रिचार्ड्सन र ग्लेन म्याक्सवेलले समान दुई/दुई विकेट लिए। प्याट कमिन्सले एक विकेट हात पारे।
अस्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले ५८ रन बनाए पनि टोलीको जितका लागि पर्याप्त बन्न सकेन। वार्नरले ४७ बलमा चार चौकाको सहयोगमा उक्त रन बनाएका थिए। यसैगरी कप्तान एरोन फिन्चले ४६ रन बनाए। मार्कुस स्टोनिसले अविजित २३ र स्टेभन स्मिथले १८ रन बनाएका थिए। मध्य र तल्लो क्रमका ब्याट्सम्यान चल्न नसक्दा अस्ट्रेलिया नमीठो हार खेप्न बाध्य बन्यो। इङ्ल्यान्डका जोफ्रा आर्चर र अदिल रसिदले दुई/दुई विकेट लिए। यस्तै मार्क उडले पनि एक विकेट हात पारे। इङ्ल्यान्डका डेभिड मलान ‘म्यान अफ दी म्याच’ घोषित भए। यी दुईबीचको दोस्रो खेल आज हुनेछ।