यूईएफए नेसन्स लिग: नेदरल्यान्ड्सको विजयी सुरुआत

Daily News

एम्सटर्डम : नेदरल्यान्ड्सले यूईएफए नेसन्स लिग फुटबलमा विजयी सुरुआत गरेको छ। घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्सले पोल्यान्डलाई १–० गोलले हरायो।

नेदरल्यान्ड्सको जितमा स्टेभन वर्गविजनले निर्णायक गोल गरेका थिए। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ६१औं मिनेटमा स्टेभनले गरेको गोल नै नेदरल्यान्ड्सका लागि पर्याप्त बन्यो। स्टेभनले हान्स हाटेबोइरको पासमा गोल गरेका थिए। स्टेभनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।

खेलको सुरुआतदेखि नै पोल्यान्डलाई दबाबमा राखेको नेदरल्यान्ड्सले थप गोल गर्न भने सकेन। पोल्यान्डले पनि गोल गर्ने राम्रा अवसर गुमाएको थियो। जितसँगै लिग ‘ए’ को समूह एकमा रहेको नेदरल्यान्ड्सले तीन अंक बनाएको छ। नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा छ। पहिलो खेलमा हार खेपेको पोल्यान्ड अन्तिममा छ। दोस्रो स्थानमा रहेको इटाली र तेस्रो स्थानमा रहेको बोस्निया हर्जगोभिनाको समान एक/एक अंक छ।

शुक्रबार राति नै भएको खेलमा इटाली र बोस्निया हर्जगोभिनाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। इटालीको घरेलु मैदानमा खेलिएको खेलमा सुरुआती अग्रता बोस्निया हर्जगोभिनाले लिएको थियो। ५७औं मिनेटमा इडिन डिजेकोले गोल गर्दै पाहुना टोलीको उत्साह जगाएका थिए। इडिनले टोनी सन्जिकको पासमा हेड गोल गरेका थिए।

बोस्निया हर्जगोभिनाको गोलपछि आक्रामक बनेको इटालीले ६७औं मिनेटमा बराबरी गोल फर्काएको थियो। इटालीका लागि स्टेफानो सेन्सीले बराबरी गोल गरे। उनले लोरेन्जो इन्सिग्नेको पासमा गोल गरेका थिए। इटालीले पहिलो हाफमा उत्कृष्ट अवसर खेर फालेको थियो। खेलको अन्तिमसम्म इटालीलाई बलियो टक्कर दिएको बोस्निया हर्जगोभिनाले पनि राम्रा अवसर गुमाउँदा बराबरीमा चित्त बुझायो।

नेसन्स लिगअन्तर्गत शुक्रबार राति नै भएको ‘बी’को समूह एकमा अस्ट्रियाले नर्वेलाई २–१ गोलले हरायो। सोही समूहको अर्को खेलमा रोमानिया र नर्दन आयरल्यान्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। लिग ‘बी’को समूह दुईमा चेक रिपब्लिकले स्लोभाकियालाई ३–१ गोलले हराउँदा स्कटल्यान्ड र इजरायलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। यसैगरी लिग ‘सी’को समूह चारमा काजकिस्तानले लिथुवानिया तथा अल्बानियाले बेलारुसलाई समान २–० गोलले पराजित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *