फातीको कीर्तिमानमा स्पेनको जित

खेलकुद

म्याड्रिड : स्पेनले यूईएफए नेसन्स लिग फुटबलमा सानदार जित निकालेको छ। घरेलु मैदानमा आइतबार राति भएको खेलमा स्पेनले युक्रेनलाई ४–० गोलले हरायो।

स्पेनको जितमा कप्तान सर्जियो रामोसले दुई तथा युवा स्टार अंशु फाती र फरान टोरेसले एक÷एक गोल गरे। एकपक्षीय खेलमा स्पेनले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा एक गोल गरेको थियो।

कप्तान रामोसले खेल सुरु भएको तेस्रो मिनेटमै पेनाल्टीमार्फत गोलको खाता खोलेका थिए। डिबक्सभित्र युक्रेनका सर्गेइ क्रिभस्टभले अंशु फातीलाई फल गरेपछि स्पेनले पेनाल्टी पाएको थियो। यसलाई रामोसले सदुपयोग गरेका थिए। एकपछि अर्को आक्रमण बुनेको स्पेनका लागि रामोसले २९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए। उनले डानियल ओल्मोको पासमा हेड गोल गरेका थिए। रामोसले राष्ट्रिय टोलीबाट पछिल्लो १५ खेलमा १० गोल गरिसकेका छन्। उनले स्पेनबाट अहिलेसम्म एक सय ७२ खेल खेल्दै २३ गोल गरिसकेका छन्।

यसैगरी खेलको ३२औं मिनेटमा अंशु फातीले गोल गर्दै पहिलो हाफमै स्पेनलाई बलियो अवस्थामा पु¥याएका थिए। अंशुुले सर्जियो रिगुइलनको पासमा उत्कृष्ट गोल गरेका थिए। यसअघि जर्मनीविरुद्धको खेलमा डेब्यु गरेका फातीले दोस्रो खेलमा स्पेनको राष्ट्रिय टोलीबाट कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमानसमेत बनाएका छन्। फातीले १७ वर्ष तीन सय ११ दिनको उमेरमा गोल गर्दै कीर्तिमान रचेका हुन्। उनले स्पेनको ९५ वर्ष पुरानो कीर्तिमान तोडेका हुन्। अंशु च्याम्पियन्स लिग र स्पेनिस ला लिगा फुटबलमा पनि सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी हुन्।

गिनीमा जन्मिएका अंशु ६ वर्षको उमेरमा सेभिलमा बसाइँ सरेका थिए। उनका बुवा र दुई दाजु पनि फुटबलमै लागेका कारण अंशुले पनि फुटबल नै रोजेका थिए। सेभिलको जुनियर टोलीमा केही वर्ष बिताएका उनी १० वर्षको उमेरमा बार्सिलोनामा आबद्ध भएका थिए। उनले बार्सिलोनाको जुनियर टोली हुँदै सिनियर टोलीमा स्थान बनाएका थिए।

राष्ट्रिय टोलीबाट सबैभन्दा कम उमेरमा डेब्यु गर्ने खेलाडीको कीर्तिमान यसअघि वेल्सका एथन एमपादुको नाममा थियो। उनले बुल्गेरियाविरुद्धको खेलमा वेल्सको टोलीबाट डेब्यु गरेका थिए। उनले १७ वर्ष तीन सय ५७ दिनमा सन् २०१८ मा आयरल्यान्डविरुद्ध नेसन्स लिगमार्फत डेब्यु गरेका थिए।

दोस्रो हाफमा पनि लगातार पोस्ट् प्रहारको अवसर बनाएको स्पेनका लागि फरान टोरेसले ८४औं मिनेटमा गोल गरेका थिए। फरानले थिएगो अलकान्ताराको पासमा बललाई जाली चुमाएका थिए। जितसँगै लिग ‘ए’को समूह चारमा रहेको स्पेन शीर्ष स्थानमा उक्लिएको छ। स्पेनले दुई खेलबाट चार अंक बनाएको छ। तीन अंक बनाएको युक्रेन दोस्रो स्थानमा छ। दुई अंक बनाएको जर्मनी तेस्रो र एक अंक बनाएको स्विट्जरल्यान्ड चौथो स्थानमा छ।

आइतबार राति नै भएको खेलमा जर्मनी स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको थियो। जर्मनीको यो दोस्रो बराबरी हो। खेलमा सुरुआती अग्रता लिएर पनि जर्मनीले बराबरीमा चित्त बुझाएको हो। १४औं मिनेटमा आइके गुन्डोगानले गोल गर्दै पाहुना टोली जर्मनीको उत्साह बढाएका थिए। पहिलो हाफमा अग्रता लिएको जर्मनी दोस्रो हाफमा भने सम्हालिन सकेन। ५८औं मिनेटमा स्विट्जरल्यान्डका सिल्भन विडमेरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसपछि थप गोल नहुँदा दुवै टोली अंक बाँड्न बाध्य भए।

यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार राति नै भएको लिग ‘बी’को समूह तीनको खेलमा रुसले हंगेरीलाई ३–२ गोलले हरायो। यही समूहको अर्को खेलमा टर्की र सर्वियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। लिग ‘बी’को समूह चारमा वेल्सले बेल्जियम र फिनल्यान्डले आयरल्यान्डलाई समान १–० गोलले पराजित गरेका छन्।

लिग ‘सी’को समूह तीनमा ग्रिसले कोसोभोलाई २–१ तथा स्लोभेनियाले मोल्डोभालाई १–० गोलले हरायो। लिग ‘डी’को समूह एकमा फारोय आइसल्यान्डले एन्डोरालाई १–० गोलले हराएको छ। सोही समूहको अर्को खेलमा माल्टा र लात्भियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *